पखेरेको परिचय

     नेपालको पश्चिमाञ्चल क्षेत्र, गण्डकी अन्चल, स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका, वडा नं॰ ३ अन्तर्गत पर्ने यौटा सुन्दर गाउ हो पखेरे । ५५ भन्दा बढि घरधुरी भएको यस गाउँ, अति नै सरल एवम् सत्यनिष्ठा गुरुङ र मगर जातिको बसोबास रहेको छ। । गुरुङमा चम्ह्रू, ल्हेगें, च्हाक्ली, लम, प्हच्यु, घ्ल्यप्रीं, मैनं लगाएतका थुप्रै थरहरु छन् । छिमेकी गाउँहरू- ओकादि, रिप, ठुलिभंज्याङ्, चिलाउनेखर्क, मोहनडाडा, शालिकोष, स्वरेका, मैदान, बडहरे आदि छन् । यहाँका मानिसहरुको मुख्य पेशा कृषि, पशुपालन तथा वैदेशीक रोजगारी नै हो । खानेपानी, विधुत, दूरसन्चार तथा यातायातको सुबिधा यूक्त यस गाउको मुख्य आकर्षक भन्नु यहाँका हरियाली वातावरण, वरपरको मनोरम दृश्य, मोति झैँ टल्कि रहने माछापुछ्रे, धौलागीरी, अन्नपुर्ण लगाएतका हिम शृङ्खला एवं स्पष्ट देख्न सकिने स्याङ्जा जिल्ला कै पहिलो पर्यटकीय स्थान दरौँ शिरुबारी र यहाँका विभिन्न धार्मिक स्थल मठमन्दिरका साथै पातला देवी मन्दिरको चरणमा रहेको बिशाल शिव गुफा हो।

बालबालिकाको शैक्षिक उन्नतिको निम्ति गाउमा प्राथामिक तहको विद्यालय मात्रै भएकोले माध्यामिक र उच्च शिक्षा हासिल गर्न पखेरे बाट १५,२० मिनेटको दूरीमा रहेको श्री भाग्योदय उच्च मा. वि. लुद्बी उजेली डाँडा सम्म झर्नु पर्ने हुन्छ।समाज निर्माणमा युवाको अग्रिम भुमिका भन्ने उदेश्यका साथ मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी बन्ने सिधाान्त लिएर 'श्री पतला देवि युवा क्लबको' २०५४ सालमा स्थापना भएको हो।

पतला देवि युवा क्लबको नामकरण:-        

  २०३७ साल जेष्ठ महिनामा यौटा देबिको उत्पत्ती भएको थियो जस्लाई पतला देविको नामकरण गरि मन्दिर स्थापना गरियो। पुन ११ बर्ष पश्चात् अर्थात २०४८ साल मंसिरमा सोही स्थानमा गुफा समेत रहेको यौटा स्याल मार्फत पत्त लागेको थियो। जस्लाई गाउकै अग्रज बुद्दिजिवीहरुको अनुसन्धान बाट शिव गुफा रहेको राज खुल्यो।जहाँ अहिले बर्षिक हजारौ वाहिया तथा आन्तरिक पर्यटकहरुले अवलोकन गर्ने गर्छन्। सोही धार्मिक स्थलको नाम बाट २०५४ सालमा पतला देवि यूवा परिवारको स्थापना भयो।

के-के गरे क्लबले:-

              क्लबको स्थापनाकाल देखि नै मष्तिस्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी भन्ने सिद्धान्तका साथ अघि बढेको यूवाहरुले पछिल्लो समयमा 'समाज निर्माणको निम्ति यूवाको अग्रीम भुमिका' भन्ने मुल नारा सहित गाउँ, समाजको सर्वाङ्गिक विकासको निम्ति विभिन्न योगदान दिदै सडक, गोरेटो बाटो, बिजुली, खानेपानी, पाटी पौवा, तमु संस्कार अन्तर्गत लास जलाउने घर 'छ्योगों धिं' देखि लिएर विगत दुई दशक देखिको यूवाहरुको अर्को सपना आफ्नै खेल मैदान, क्लब तथा समाज घरको निर्माणकार्य पनि सम्पन्न भएको छ।

पखेरे बाट स्पष्ट अवलोकन गर्न सकिने ठाउँहरु:-

              उत्तरमा माछापुछ्रे, अन्नपुर्ण, धवलागिरी लगाएतका हिम शृङ्खला, तमु हे डाडा, स्याङ्जा जिल्ला कै पहिलो पर्यटकिय गाउँ शिरुवारी लगाएत लामडाडा, ढापुक जस्तै ठुप्रै ठाउहरु स्पष्ट अवलोकन गर्न सकिन्छ पुर्ब तर्फ स्याङ्जा जिल्ला कै सबै भन्दा ठूलो फाँट र सोही फाटको मध्यभाग हुँदै खेल्ने आधीखोला,पाल्पा र गुल्मिका कहि भु-भागहरु देख्न सकिन्छ त्यसै गरि दक्षिण तर्फ देउराली डाडा र हालचालै संचालनमा आएको प्यारा ग्लाईडिङ पोईन्टको साथै देउरालीका मन्दिरहरु प्रष्ट देख्न सकिन्छ, पश्चिम तर्फ देविथान मन्दिर, भञ्ज्याङका हरियाली मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ।    

यस पखेरेमा युवाहरुको मात्र एक लौटी संगठन नभै यहाँ अरु थुप्रै संगठनहरु आमा समूह अन्तर्गत पावर ग्रुप, बा समूह, बाल क्लब पनि रहेका छन् जसले सदैब युवा संग हातेमालो गरेर नया कार्यको थालनी गर्छन् र हरेक कार्यमा साथ दिने गर्दछ्।पुर्खौ देखि चली आएका हाम्रो मौलिक परम्परा, संस्कृति तथा रितिरिवाजलाई जोगाइ राख्न पनि सदैब तात्पर्य हुने गर्छन् पखेरे बासी। यहाँका मिलनसार जुझारु युवाहरू गाउँमा मात्र नभै छिमेकी गाउँका युवाहरु संग पनि हातेमालो गरेर काधमा काध मिलाई अघि बढ्ने गर्छन्। युवाको एक अतिरिक्त कार्य अन्तर्गत विभिन्न ठाउमा आफ्नो कला/ खेल पर्दशन पुग्ने गर्छन्। साथै क्लबले पनि प्रत्येक बर्ष बार्षिक उत्सव अन्तर्गत विभिन्न कार्यक्रम एवं प्रतियोगिताको आयोजना गर्ने गर्छन्।युवा, बाल तथा अग्रज अभिभावकहरुको मीठो साथ संगै यहाँका प्राकृतिक मनोरम दृश्य संगको सम्बन्धले साँच्नै पखेरेको भु-स्वर्ग भन्न मन लाग्छ।पछिल्लो समयमा पखेरेलाई देश तथा बिदेशमा परिचित गराउनको निमित्त पखेरे बासी जोडतोडले लागि परेका छन्। तसर्थ तपाईलाई पनि पखेरेमा हामी हार्दिक स्वागत गर्दछौ।