नेपालको सुन्दर गाउँ: पखेरे
नेपालको पश्चिमाञ्चल क्षेत्र, गण्डकी अञ्चल, स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ८ अन्तर्गत पर्ने यौटा सुन्दर गाउँ हो पखेरे। ५५ भन्दा बढि घरधुरी भएको यस गाउँमा अति नै सरल एवम् सत्यनिष्ठा गुरुङ र मगर जातिको बसोबास रहेको छ। गुरुङमा चम्ह्रू, ल्हेगें, च्हाक्ली, लम, प्हच्यु, घ्ल्यप्रीं, मैनं लगायतका थरहरू छन्। छिमेकी गाउँहरू- ओकादी, रिप, ठुलीभञ्ज्याङ, चिलाउनेखर्क, मोहनडाँडा, शालिकोष, स्वरेक, मैदान, बडहरे आदि छन्। यहाँका मानिसहरूको मुख्य पेशा कृषि तथा पशुपालन हो।
गाउँको प्राकृतिक सौन्दर्य र आकर्षण
पखेरे गाउँमा खानेपानी, विद्युत, दूरसञ्चार तथा यातायातको सुविधा उपलब्ध छ। यस गाउँको मुख्य आकर्षण भनेको यहाँको हरियाली वातावरण, वरपरको मनोरम दृश्य, मोति झैं टल्किने माछापुछ्रे, धवलागिरी, अन्नपूर्ण लगायतका हिमशृङ्खलाहरू हो। स्याङ्जा जिल्लाको पहिलो पर्यटकीय स्थान दरौँ शिरुबारी पनि यहाँबाट प्रष्ट देख्न सकिन्छ। यसबाहेक, गाउँमा रहेका विभिन्न धार्मिक स्थलहरू, मठमन्दिरहरू र पतला देवी मन्दिरको चरणमा रहेको विशाल शिव गुफा यहाँका प्रमुख आकर्षणहरू हुन्।
शैक्षिक अवस्था
पखेरे गाउँमा बालबालिकाको शैक्षिक उन्नतिको निम्ति प्राथमिक तहको विद्यालय मात्र छ। माध्यामिक र उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरूलाई पखेरेबाट १५–२० मिनेटको दूरीमा रहेको श्री भाग्योदय उच्च मा. वि., लुद्बी उजेली डाँडा सम्म जानुपर्ने हुन्छ।
श्री पतला देवी युवा क्लबको स्थापना
समाज निर्माणमा युवाको अग्रिम भूमिका भन्ने उद्देश्यका साथ मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारीको सिद्धान्त लिँदै "श्री पतला देवी युवा क्लब" को स्थापना वि.स. २०५४ सालमा भएको थियो। क्लबले गाउँको स्तरउन्नति तथा सर्वाङ्गिक विकासमा निरन्तर योगदान दिँदै आएको छ।
पतला देवी मन्दिर र गुफाको ऐतिहासिक पृष्ठभूमि
गण्डकी प्रदेशको स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ८ स्थित पखेरे गाउँमा श्री पतला देवी मन्दिर र पतला देवी गुफा अवस्थित छ। वि.स. २०४७ सालमा आश्चर्यजनक तरिकाले पत्ता लागेको यस गुफाको ऐतिहासिक पृष्ठभूमि पनि महत्त्वपूर्ण छ। स्थानीय नुल बहादुर गुरुङले स्यालले कुखुरा उठाएर लगेको देखेपछि स्यालको पछि लाग्दै जाँदा उक्त गुफा पत्ता लागेको हो।
करिब ४० मिटर लम्बाईको गुफाभित्र प्राकृतिक रुपले बनिएको शिवलिङ्ग, देवीको आकृति, गुरुङहरूको वेदमा प्रयोग हुने ढ्याङ्ग्रो, हिमालय पर्वत लगायतका विभिन्न आकृतिहरू देख्न सकिन्छ। मन्दिर र गुफा व्यवस्थापनका लागि स्थानीयले सहकार्य गरेका थिए। वि.स. २०४९ सालमा मन्दिर स्थापना गरी चैते दशैंमा पहिलो पूजा सम्पन्न भयो।
श्री पतला देवी युवा क्लबको योगदान
क्लबको स्थापनाकालदेखि नै "समाज निर्माणको निम्ति युवाको अग्रिम भूमिका" भन्ने मुल नाराका साथ युवाहरूले गाउँ, समाजको सर्वाङ्गिक विकासमा टेवा पुर्याउँदै सडक, गोरेटो बाटो, बिजुली, खानेपानी, पाटी पौवा, र तमु संस्कार अन्तर्गत लास जलाउने घर 'छ्योगों धिं' को निर्माण गरेका छन्। साथै, युवाहरूले आफ्नै खेल मैदान, क्लब भवन, र समाज घरको निर्माणकार्य पनि सम्पन्न गरेका छन्।
पखेरेबाट देखिने मनोरम दृश्यहरू
पखेरेबाट उत्तरतर्फ माछापुछ्रे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमशृङ्खलाहरू प्रष्ट देख्न सकिन्छ। त्यस्तै, तमु हे डाँडा, शिरुबारी, लामडाँडा, र ढापुकजस्ता स्थानहरू स्पष्ट देख्न सकिन्छ। पूर्वतर्फ स्याङ्जा जिल्लाको सबैभन्दा ठूलो फाँट र त्यसैबाट बग्ने आधीखोला नदी पनि देख्न सकिन्छ। दक्षिणतर्फ देउराली डाँडा, प्यारा ग्लाइडिङ पोइन्ट, र देउरालीका मन्दिरहरू प्रष्ट देख्न सकिन्छ। पश्चिमतर्फ देविथान मन्दिर र भञ्ज्याङका हरियाली दृश्यहरू पनि अवलोकन गर्न सकिन्छ।
समाजमा युवाहरूको भूमिका
पखेरेमा युवाहरूको मात्र एक संगठन नभै यहाँ अरु थुप्रै संगठनहरू पनि सक्रिय छन्। आमा समूह अन्तर्गत पावर ग्रुप, बा समूह, बाल क्लबजस्ता समूहहरूले सदैव युवाहरूसँग हातेमालो गर्दै नयाँ कार्यको थालनी गर्छन्। यसले गाउँमा समाजिक र सांस्कृतिक विकासमा निरन्तरता दिएको छ। यहाँका मिलनसार जुझारु युवाहरू छिमेकी गाउँका युवाहरूसँग पनि हातेमालो गरेर अगाडि बढिरहेका छन्।
वार्षिक उत्सव र क्लबका अन्य गतिविधिहरू
क्लबले प्रत्येक वर्ष वार्षिक उत्सव अन्तर्गत विभिन्न कार्यक्रम तथा प्रतियोगिताको आयोजना गर्छ। युवाहरूले आफ्नो कला र खेल प्रदर्शन गर्न विभिन्न स्थानमा पुग्ने गर्दछन्। क्लबको यो गतिविधि समाजको लागि ठूलो योगदान हो।
पखेरेमा स्वागत
पखेरेको प्राकृतिक सौन्दर्य, हरियाली डाँडाहरू, हिमशृङ्खलाहरू, धार्मिक स्थलहरू र यहाँका मिलनसार बासिन्दाहरूले पखेरेलाई "भू-स्वर्ग" बनाउन मद्दत गरेका छन्। पछिल्लो समयमा पखेरेलाई देश तथा विदेशमा परिचित गराउन पखेरेबासीहरू जोडतोडले लागि परेका छन्। पखेरेमा तपाईलाई हार्दिक स्वागत छ।

