गुरुङ जातिहरुको सवैभन्दा ठुलो चाड तमु ल्होसार हो । गुरुङ भाषामा ल्होसार भन्नाले नयाँ वर्ष बुझिन्छ भने तमु शब्दले गुरूङ समुदायलाई जनाउँदछ । ‘ल्होसार’ चैं दुइ शब्द मिलेर बनेको छ । ‘ल्हो’ को अर्थ बर्ष वा साल र ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । ‘ल्होसार’ तिब्बति भाषाबाट आएको शब्द हो । गुरुङ समुदायमा ल्होछार वा ल्होसार भन्नाले एउटै पर्व बुझिन्छ तर बोलिचालीको भाषामा भने यसलाई दुवै रुपमा प्रयोग गरेको पाइन्छ । बौद्ध धर्म अनुयायी तामाङ, शेर्पा, गुरुङ र थकाली जातीले ल्होसार पर्वलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँछन् । हरेक बर्ष पौष महिनाको १५ गतेका दिन यो चाड मनाइन्छ । गुरूङ समुदायको पात्रो अनुसार तमु ल्होसारले नयाँ सम्वत् सुरु भएको जनाउँदछ । तमुहरुको प्राचीन शास्त्र प्यो अनुसार तमु ल्होसारको दिन उनीहरुका प्रथम महापुरुषको उत्पत्ति भएको थियो ।
यो पर्वमा घोडा वर्गलाई बिदाइ गरी भेडा वर्गलाई स्वागत गर्दै मनाइन्छ । तमु पात्रो अनुसार बिभिन्न १२ वटा वर्गहरु रहेकाछन् । ती वर्गको नाम भने विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ र तिनै वर्गको नाममा बर्षहरु पनि नामाकरण भएको छ । जस अनुसार बाह्र बर्षको नाम क्रमश: मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको छ । वर्गहरु फाप्ने नफाप्ने खालका हुन्छन् भने ती वर्गहरुको शुभ समय तथा अन्य विशेषताहरु लामा र पच्यु शास्त्र अनुसार हुन्छ ।गुरुङ समुदायमा ल्होसारको अघिल्लो दिन साँझदेखि नै यो चाड मनाउने क्रम सुरू हुन्छ । साँझ पूजापाठ, भोज तथा नाचगान गरी आधा रात भएपछि 'नयाँ बर्ष आयो' भन्दै नयाँ बर्षको खुसियाली मनाइन्छ । ल्होसारको दिन भने बिहानै नाता कुटुम्बहरुबीच भेटघाट गरिन्छ र मान्यजनबाट आशिर्वाद ग्रहण गरिन्छ । गुरूङ जातिहरुको यो महान चाडका बेला गुरुङसेनी महिलाहरुले आफ्नै जातीय संस्कृति झल्किने भेषभुषा पहिरनहरु मखमली चोली, छिटको गुन्यु, शिरवन्दी, घलेक्क, पटुकी र मजेत्रो लगाउँछन् भने पुरूषहरूले भने शिरमा टोपी, कछाड, पटुकी, भोटो र त्यसमाथि भाङ्ग्रो लगाउँछन् । ल्होसारका अवसरमा गुरुङहरुले घाटु र सोरठीका स्थानीय चुड्का गाउँदै कौडा नाच्ने गर्दछन् । यस चाडलाई नेपाल सहित गुरुङ समुदाय बस्दै आएका बेलायत, अस्ट्रेलिया, हङकङ, ब्रुनाई, जर्मन र भारतमा पनि मनाइन्छ । यसरी देश विदेशमा रहेका गुरुङ जातिले पुस १५ कै दिन तमु ल्होसार भव्य रुपले मनाउँछन् ।
अर्कोतिर आज मिठामिठा पकवान तथा घिउतेलमा पकाएका खानेकुरा खाने चलन पनि छ । आज एकदिन भए पनि घर बाहिर पकाएर खानुपर्ने मान्यता रहेको छ । त्यहि भएर आज वनभोज जाने र मिठा खानेकुरा खाने गरिन्छ । पुस १५ मा तेल घिउमा झ्वाईं पारेर पकाइएका खानेकुरा खाने गरिन्छ । नेपालमा गुरुङ जातिहरुको मुख्य बसोबास स्याङ्जा, कास्की, गोरखा, लमजुङ, तनहुँ, चितवन, दैलेख, बाँके, सुर्खेत, मनाङ, ओखलढुंगा र खोटाङ जिल्लामा रहेको छ । त्यसका अलवा अन्य जिल्लाहरुमा पनि उनीहरुको बसोबास रहेको देखिन्छ ।
-हाम्रो पात्रो बाटा साभार
