पुस १९, २०७२- साफ च्याम्पियनसिपको १२ औं संस्करण बंगलादेशमा आयोजना हुने भएको छ । यो सन् २०१७ मा हुनेछ ।
बंगलादेशले तेस्रोपल्ट साफको आयोजना गर्ने भएको हो । यसअघि उसले २००३ र २००९ मा आयोजना गरेको थियो । साफ २०१७ आयोजकको होडमा माल्दिभ्स र भुटान पनि थिए । भुटानले आयोजकको प्रतिस्पर्धाबाट सुरुमै नाम फिर्ता लियो । त्यसपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमिति बैठकले शनिबार बंगलादेशको पक्षमा निर्णय गरेको डेली स्टारले जनाएको छ । यसमा प्रायोजकवल्र्ड स्पोर्ट्स ग्रुप (डब्लुएसजी) पनि सहमत भएको छ । डब्लुएसजी र साफवीच क्षेत्रीय च्याम्पियनसिप एक संस्करण बिराएर भारतमा आयोजना गर्ने सहमति भएको थियो । सन् १९९३ मा सार्क गोल्डकपको रुपमा सुरु भएको यो क्षेत्रीय प्रतियोगिता नेपालले १९९७ र २०१३ मा आयोजना गरेको थियो ।
साफले क्लब कप च्याम्पियनसिपको पहिलो संस्करण पनि बंगलादेशलाई आयोजना गर्न प्रस्ताव गरेको छ । सन् २०१५ को अन्त्यमा सञ्चालन हुने बताइएको यसमा दक्षिण एसियाली घरेलु लिगका च्याम्पियन क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । ‘साफ च्याम्पियनसिप र क्लब कप च्याम्पियनसिपलाई फरक बर्षमा आयोजना गर्नेछौं,’ साफका अध्यक्ष काजी सलाउद्दिनलाई उद्दृत गर्दै डेली स्टारले जनाएको छ ।
त्रिवेन्द्रम, केरलामा भएको बैठकले साफ वुमेन्स च्याम्पियनसिपको चौथो संस्करण २०१६ मा भारतमा आयोजना गर्ने निर्णय पनि गर्यो । स्थान निश्चित नगरिएपनि यो अगस्ट–सेप्टेम्बरमा आयोजना गर्ने बताइएको छ । यसअघिका साफ वुमन्स च्याम्पियनसिप बंगलादेश, श्रीलंका र पाकिस्तानमा भएको थियो ।
अफगानिस्तानले एएफसी (एसियाली फुटबल महासंघ (एएफसी) मा आफ्नो सदस्यता दक्षिण एसियाबाट मध्य एयिामा सारिसकेको छ । तर, अर्को साफमा उसको सहभागिताबारे हुने/नहुने भन्नेबारे कुनै छलबफल नभएको बताइएको छ ।
कान्तिपुर बाट साभार।