राजनीतिले सहि नेतृत्व दिन नसकेको राष्ट्र अनि गरिबीको घेरा भित्र पिल्सिएको देश नेपालको पश्चिमी भेग अन्तरगत यौटा दुर्गम गाउँमा जन्मिएको मान्छे म।
कृषि, पशुपालन र सामाजिक गतिविधिमा संलग्न हुँदै केही शिक्षा हासिल गरेर जेनतेनले गुजारिएको जिन्दगी बोक्दै उमेरले दुई दशक पार गरे पछि धेरै कुराहरुको कमि महसुस हुदै गयो।
बृद्ध-बृद्धाअबश्थामा पुग्नु भएका बाबा आमाको अनुहारमा सुख देख्न चाहें, अनि म भन्दा मुनि रहेको भाइको आँखामा खुसी देख्न चाहें।
बाबाआमाले दिन सक्ने खुसी, हाम्रो लागि उहाहरुले निभाउनु पर्ने कर्तब्यमा उहाँहरु निरन्तर लागि रहनु भएको थियो।
तर मैले बुझ्ने भए पछि बाबाआमालाई अब सुख दिनु पर्छ। भाईको भबिस्य उज्ज्वल बनाउनु पर्छ। परिवारलाई खुसी पार्नु पर्छ। यिनै र यस्तै हजारौं सपनाहरूले मन मस्तिष्कमा डेरा जमाउन थाल्यो।
र ती सपनाहरुलाई पूरा गर्नु पर्छ भन्ने निधो गरि बाबाआमालाई बिदेश पलायन हुन्छु भनी आग्रह गरें। रित नै रहेछ नेपाली युवाहरुको उमेर पुगे पछि कर्म थलो खोज्दै परदेशको मरुभूमिमा अहोरात्र खटिनु पर्ने।
बाबाआमा बाट पनि प्रस्ताव स्वीकार भयो।
सबै प्रक्रिया मिले पछि २०६४ साल पौष १८ गतें दुबईमा मार्बल कम्पनीको लागि भिसा लगाएर म लगाएत सोही कम्पनीको निम्ति अन्य १० जना दाजुभाई सहित एकै पटक नेपाल बाट उड्यौं।
पौष १९ गते नै दुबै आईपुग्यौं अपरिचित शहर निकै नै रमणीय लाग्यो। अब मेरा कयौं सपनाहरु पूरा हुनें भयो। नौलो सहरमा के गर्नु कहाँ जानू, कसो गर्नु भन्नू भन्दा पनि आफ्नै सपनाहरुमा लिप्त हुदा नयाँ ठाउमा पनि त्यति चिन्ता नै लागेन। त्यो माथी विश्व भरि रहेका नेपालीहरु आवतजावतको लागि प्रयोग गरिने ठाउ दुबईमा धेरै नेपालीहरु भेट हुदा नेपाल मै छु कि? भन्ने भ्रम पनि पैदा भयो।
तर घर देखि यति टाढ आईसके पछि त्यही घरको असाध्यै याद आईरह्यो।
दुबईको विमानस्थलमा केही क्षणको प्रतीक्षा पश्चात् हामीलाई लिन एक जना नेपाली नै आउनु भयो, मार्बल कम्पनी कै म्यानेजर हुनुहुदो रहेछ।
उहाले हामी बस्ने क्वाटर सम्म पुर्याइ काम र कम्पनीको बारेमा धेरै सिकाउनु भयो सोही अनुरुप काम चल्न थाल्यो र दिनहरु यसरी नै कट्दै थियो।
मासिक परिश्रमको फल घर पठाउदा र टेलिफोन सम्पर्क गर्दा स-परिवार निकै खुसी हुन्थे। अब दुखका दिन गए झै गरि मुस्कान व्यक्त गर्थें।
उनिहरुको खुसीले म पर्देशमा गतगत हुने गर्थें आखिर पैसा नै रहेछ सबथोक।
यसरी नै दिनहरु बित्दै गर्दा दुबई आएको करिब ८ महिना पछि पहिलो पटक बिदाको दिन साथीभाइ संग घुमफिरको लागि निस्किएँ।
त्यो दिन मेरो जिन्दगीको सबै भन्दा रमाइलो दिन थियो।
हुन पनि किन नहोस् सधै कम्पनी र क्वाटर गर्दा गर्दै बितेको समय बाट उछिट्टिएर स्वर्गमा प्रबेश गरे झै लाग्यो। बहिराको सुन्दरता, रमणिय स्थलहरु र अलिसान महलहरु संग आफुलाई नाप्दै हिडें। साथी भाइ संगै विभिन्न नौलानौला ठाउँहरु घुमे। अरु नयाँ नयाँ सथीहरु संग परिचय भयो।
सोही क्रममा एकजना नेपाली युवती संग पनि मेरो परिचय भयो।
७ महिना देखि उनी दुबईमा घरको कामदारको रुपमा बसोबास गर्दै आएको रहेछ। नेपालको पुर्बी भेगमा जन्मिएकि लिम्बू थरकी उनी।
असाध्यै राम्री थिईन बोली बचनमा स्पष्टता र आदरवाची उनी साँच्चै चञ्चले पनि थिइन।
उनी संगको परिचय संगै हामी तत्कालै आधुनिक युगको चर्चित सञ्चार माध्यम मुहार पुस्तिकामा जोडियौं र सम्पर्क नम्बर पनि साटासाट गर्यौं।
समयले साँझ पर्दै गएको संकेत गर्दै थियो त्यसकारण उनी संग धेरै भलाकुशारी गर्न सकिन।
कुराकानी गर्नको लागि सजिलो माध्यमहरु संग जोडिए पछि फेरि भेट गरौंला भन्ने आश्वासन बाडेर छुट्यौं।
क्वाटर तर्फ फर्कदै गर्दा मन भित्र अनेकौं सवाल उठ्न थाल्यो।
जिन्दगी मै पहिलो पटक थियो त्यो पल म यौटी पराइ संग आकर्षित भै रहेको थिएँ।
उ संग अझ नजिकिने चाहतहरु बढ्दै थियो। खै किन किन आफुले आफुलाई निकै हतारिएको महसुस गर्दै थिएँ।
एका तिर बाबाआमाको मुहारमा खुसी
झल्काउने र सुखको बहार ल्याउने सपना, अर्को तिर अनायसै उनी संगको आकर्षित मनहरु।
यिनै र यस्तै कुराहरुले मनमा डेरा जमाउदै गर्दा क्वाटर सम्म आईपुगेको पत्तै पाईन छु। खाना खाएँ बेडमा पल्टिएँ तर त्यो रात आँखा बन्द सम्म भएन।
जति रात छिप्पिदै गए उति नै हजार हजार शब्दहरु उब्जिए।
आमाबाबा र भाइ त म सुखमा जसरी पनि राख्छु साथै जिन्दगीमा बिबहा एक पटक त गर्नै पर्छ। त्यो जो संग पनि हुन सक्छ। त्यसैले म मेरो पछिल्लो सोचाई र उनी संगको भेटलाई पनि मेरो अघिल्लो सपनाहरु संग जोडि दिएँ।
अब भोलिको दिनमा म यौटा मन चोर भएर उभिन्छु यिनै कुराहरु खेल्दा खेल्दै उज्यालो भै सकेछ।
म फेरि पूरानै दैनिकी तर्फ फर्कें।
त्यो दिन निन्द्रले झुल्दै ड्युटी गरियो। सायद पहिलो पटक अनिदो बसेकोले होला खप्नै सकिन ड्युटी सकेर आउने वितिक्कै लम्पसार ओछ्यानमा पल्टिन साथ निदाएछु।
साँझ साथीहरुले खाना खान उठाएको रहेछ पत्तो नै पाईन एकै पटक बिहान ब्युँझिएँ।
र झस्किएँ एकपटक फेरि ती तीन दिन अघिका अतित सझे, साथै उहीँ चहकिलो र सञ्चलताले भरिएकी जून झै मुहार सम्झिएँ। जमाना सरल भएर हो या मेरो सोचाई सरल खै? अनायसै उस्को नम्बरमा सम्पर्क गरें सजिलैं बोल्यौं सञ्चो बिसञ्चो अनि घरपरिवारको खबर साटासाट गर्यौं। यत्तीकै मा ड्युटी जाने समय भएछ। उ संग थोरै कुराकानी भयो। त्यसपछी टिफिन पोको पारें र लागें पुनः उहीँ पुरानो दिनचर्या तर्फ।
सदा झै ड्युटी सुरु भयो, उस्लाई सम्झिन भने मनले पटक्कै छोडेको छैन। आज त झन उस्को आवाजलाई सुनेको मनमा उहीँ कोईलीको झै मिठास् आवाज गुन्जी रह्यो। मनले फेरि सवाल गर्छ।
उन्को वास्तविक जीवन?
बिदेशिनुको कारण?
बिबाहित हुन् या अविबाहित?
कि अरु कोहि त छैन उस्को जिन्दगीमा?
तत्काल उनी संग यी प्रश्न तेस्राउन सक्ने म संग क्षमता थिएन। प्रश्न गरुँ पनि कसरी? बल्ल ४ दिन त बितेको छ चिनेको, अनि दुई पटक त भयो बोलेको।
फेरि यो मन आफैले जवाफ दिन्थ्यो,
प्रतीक्षा गर्नु पर्छ समय आए पछि आफै पत्तो लाग्छ।
अन्ततः आफुले आफैलाई सान्त्वना दिन्थें।
यसरी नै बिस्तारै बिस्तारै प्रत्येक दिन कुराकानी हुन थाल्यो।
दुईजना दिदीबहिनी मध्ये उनी घरको पहिलो छोरी रहेछ।
बिदेशिनुको मुख्य कारण नेपालीहरुको उहीँ गरिबि त रहेछ।
उनको पनि उस्तै व्यथा उस्तै कथा।
उनको बाबाको देहान्त पश्चात् घरमा आईपरेको चरम आर्थिक समस्य नै उनी बिदेसिनुको मुख्य कारण बताईन्। माध्यामिक तहको अध्ययन गर्दा गर्दै
बाबाको देहान्त भए पछि घरमा कमाउने व्यक्ती नभएकोले उनी दुबई आएकी रहिछे।
कुनै पनि कुरालाई भन्न बाकी नराख्ने उस्को स्वभाव नै म उ प्रती आकर्षित हुनुको मुख्य कारण थियो।
म पनि मेरो आफ्नो हरेक वास्तविकता भन्ने गर्थें।
दिनानुदिन कुराकानीको क्रम बढ्दै गयो। संगै एक अर्का प्रतिको आत्मियता पनि उत्तिकै बढेको अनुभुती हुन्थ्यो।
घर परिवारमा अफ्ट्यारो पर्दा एकले अर्कोलाई उत्तिकै सहयोग पनि गर्थ्यौं।
यस्तै क्रम ५,६ महिना सम्म जारी रह्यो, म उनलाई धेरै चहान्थे, अथाह प्रेम गर्थे, मेरो प्रेम मैले सधै दृस्टान्तमा मात्र बोलि रहें। मैले स्पष्ट व्यक्त गर्न सकि रहेको थिइन।
उनले पनि सायद बुझ्थि मेरो अघोषित प्रेम। मेरो कुनै अनुरोधलाई नकार्ने थिएन उनले। प्रत्येक शुक्रबार बिदा मिलेता पनि हामी बाहिर निस्केर भेटघाट गर्नु भन्दा टेलिफोन मै मस्त कुरा गर्न रुचाउथ्यौ।
एकदिन २०६५ साल माघको महिना शुक्रबार बिदाको दिन थियो। दुबईको एकनास मौसममा यस पटकको बिदामा पनि हामी कोठा भित्रै बसेर सबेरै देखि मोबाईलमा गफ गर्न थाल्यौं।
उनी दुबै आएको एक बर्ष पुगेछ त्यो दिन। म आएको पनि १३ महिना भै सकेको थियो।
हामी दुबै जनाले बितेको एकसाललाई पुनः स्मरण गर्न तर्फ लाग्यौं।
प्रवासमा रहदा भोगेका अनि भोगी रहेका हर उतारचढाव, दुख कष्टहरुलाई स्मरण गर्यौं।
अनि उहीँ ६ महिना अघि उनी संग परिचय भएको पललाई स्मरण गर्यौं। मलाई उनले खुब आदर गर्थिन्, तर मेरो नाम कहिल्यै पुकारेनन्, बस् गुरुङ जि भन्ने गर्थी। निमा नाम कि उनलाई मैले पनि कहिले काहीँ लिम्बू जि भन्ने गर्थें, उनी मुस्कुराउने गर्थी।
यसै क्रममा मैले प्रसंग जोडें
:अब यो जी र तपाईं हजुरको पुकार छाडौं। हामी त साथी हौ नि "तिमी" भनेर बोल्दा कसो होला? यो जी, जी अब कति लगाउने? यति घनिष्ट भै सकेको यो मित्रतालाई अझ सरल बनाउ क्यारे हुदैन? -आग्रह गरें।
:नाई हुदैन। मलाई त अफ्ट्यारो लाग्छ बरु तपाईं तिमी भन्नुस् म त तपाईं नै भन्छु। -असहजताले भरिएको टिप्पणी आयो।
:उम्म् सोच्नु पर्छ। तर एक्कासी "तिमी" भन्न त अफ्ट्यारो हुन्छ होलानी है? -प्रती प्रश्न गरें।
:थाहा रहेछ त? अनि मलाई चाहिँ किन तिमी भन भन्नु भएको? अब आफै भन्नुस् खुरुक्क म अरु जान्दिन हि हि। -अफ्ट्यारो मान्दै अलिकति लाजले भरिएको मुस्कान व्यक्त गरिन्।
:तिम्रो बोली साह्रै प्रिय लाग्छ मलाई, अनि हरेक पलमा मुस्कुराई रहने तिम्रो स्वभाव र ब्यबहारिक बिचार साँच्चै मलाई एकदम मन पर्छ -प्रेम दर्साएँ।
:ए होर? -अपुरो जवाफ।
:अँ। म यहाँ आए पछि फेरि अर्को सपना देख्न थालेको छु। थाहा छ तिमीलाई त्यो के हुन सक्छ? -प्रसंग बदल्दै बोलें।
:लाह् के होला कुन्नी? तपाईको मन भित्र पस्न सक्ने म त्यस्तो यन्त्र भएको भए सायद तपाईले भन्नै पर्दैन थ्यो होला। म त्यस्तो चिज परिन लौ अब सुनाउने कष्ट गर्नुस् के हुन सक्छ त्यो? -ठट्टा गर्दै सोधिन।
:हुन त त्यो सपना सबैमा हुन्छ। मेरो पनि उस्तै सपना हो। बिचारले परिपक्व भएकी, ब्यबहारिक केटि संग घरजाम गर्नु। जस्ले हर बाध्यतालाई बुझेको होस्, जस्तो सुकै कठिन परिस्थितिलाइ पनि सामना गर्न सक्ने, सुख दुखमा सदैब साथ दिने, आधुनिक युगलाई सहि सदुपयोग गर्ने खालको सपनाको राजकुमारीको तलासमा तल्लीन छु। - प्रसंग बिस्तार गरें।
:ए होर! राज कुमारको सपनामा कोहि पर्खी रहेकी होलान् नि त। न आतिनुस् छिट्टै भेटिन्छ बरु म पनि प्रार्थना गरि दिउला तपाईको सपना रानी छिट्टै भेटियोस् भनेर। - पुनः ठट्टा गर्दै आत्मियता झल्काईन्।
: अँ! हिज सपनामा त देखेको थिएँ, सितल छहारीमा बसेर गीत गुनगुनाउदै थिइ। बोलाउन लागेको आफैं पो झस्केर बुझे छु। -मैले पनि ठट्टा गरें।
:हि हि ए होर! कस्ति थिइन् उनि? -चासो व्यक्त गरिन्।।
:उम्म्, तिमी जस्तै। -जिस्किएँ।
यत्तीकैमा समय निकै पर पुगि सकेछ।
:ए लाह्!!!! २ बजि सकेछ छुट्टीको दिन कोठाको सरसफाइ गर्नु पर्छ छिट्टै भ्याएँ भने भरे कुरा गरौंला नि है भन्दै हतारमा फोन काटिन्।
यता मलाई भने बर्षौं देखि बोकि हिडेको भारी बिसाएर आराम गरे झै हलुका महसुस भयो।
हिजो कोपिलाको स्वरुपमा निस्किएको फूल आज फुल्ने तर्खरमा हतारिएको झै भयो।
अब मेरो प्रेम प्रस्ताव राख्ने बाटो खुलेको अनुभुती भयो।
मनभित्र यिनै कुराहरु खेल्दै थियो, उ आफ्नो कार्य तर्फ लागे पछि घर फोन सम्पर्क गरें आमाबाबा, भाई संग कुरा गरें। सञ्चो बिसन्चो सोधें अनि म पनि सरसफाई तिर लागेँ।
यो मन मस्तिष्क पनि सपनाहरु बुन्न कती सकेको। कहिले काहीँ त लाग्थ्यो आवस्यक भन्दा बढी अग्लो महल बनाउनु पनि उचित हैन। जग बल्लियो भएन भने जति खेर पनि ढल्न सक्छ।
त्यही मनले यसो भन्दाभन्दै पनि एकचित्त भै एकमाथी अर्को गर्दै अन्दाधुन्दा सपनाको तलाहरु थप्दै जाने गर्थ्यो। जग कस्तो छ खै? उठाई सकेको महलमा फेरि जग बनाउन असंभव नै भयो। तर त्यो स्तम्भ अलिशान बनाउन भने कहिल्यै छाडेन।
साँझको ठिक ६ बजे फेरि मोबाईलको घन्टी बज्यो।
उनैको फोन रहेछ हतारहतारमा उठाएँ।
:हेल्लो! राजकुमार के गर्दै होइसिन्छ? -राजकुमार भनेर विगतलाई पुकारिन्।
:उम्म् ठिक छु। हजुरको कार्यशिद्ध सम्पन्न भयो त राजकुमारी ज्यु? -ठट्टा गरें।
:छ्या भयो के! मलाई त आउदैन यस्तो भाषा। -अनविज्ञ बनिन्।
मैले पनि धेरै ठट्टा गर्न चाहिन।
तर उनले बिहान कै प्रसंगलाई जोडिन्।
:साँच्चै आज बिहानको कुराले खुब खुलदुली लाग्यो भन्या, कसैलाई खुब मन पराउन थाल्नु भएको छ कि क्या हो? भन्न सक्नु भएको छैनभने भन्नुस् म भनी दिउला। -गहिरो चासो व्यक्त गर्दै स्पस्ट पार्न अनुरोध गरिन्।
उनको प्रश्नले मलाई संकटको घेरा भित्र पार्यो।
मेरो उनी प्रतिको चाहत उनलाई दर्साउन कत्तिपनी सकि रहेको थिएन।
प्रेम प्रस्ताव राखुँ कसरी राखुँ यदि अस्वीकार भयो भने आज सम्मको आत्मियता यो मित्रताको यति मीठो साथ सबै भंग हुन्छ।
प्रस्ताव नराखुँ मनको चाह मन भित्रै मर्छ कि भन्ने डर।
मैले केही बोल्न सकि रहेको थिएन।
म एकछिन मौंन रहें। उनले फेरि प्रश्न गरिन्।
:भन्नुस् न कि मलाई पनि भन्नू हुदैन? -यति खेर उनको आवाज दिल भित्र कहि चोट पुगेको झै गरि अस्पस्ट आयो। साथै अभाव मिसिएको पनि महसुस गरें।
किन यसरी परिवर्तन भयो उस्को आवाज? म फेरि अन्यौलमा परें। लाग्छ उन्ले पनि मलाई धेरै चाहान्छे। तर प्रस्ताव उनी म बाट सुन्न चाहान्छे।
उनलाइ प्रस्ताव राख्ने मौका यहि हो भन्ने लाग्थ्यो। तर म तिमीलाई चहान्छु भन्ने शब्द घाँटी सम्म मात्र आई रह्यो, त्यहा बाट बाहिर निकाल्नै सकिन। बस् अक्मकिदै -
:म भन्छु, पछि भन्छु नि ल। -समय मागें।
:अर्कालाई खुब सताउन आउँछ नि है हजुरलाई?
-उ निरन्तर बोली रह्यो।
मलाई लाग्छ म हजुरको सबै कुरा बुझ्छु होला।
यदि म गलत सावित भएँ भने पहिले नै माफी माग्छु।
तपाईको सपनाको राजकिमारीलाई मैले राम्रो संग चिनेकी छु। हाम्रो सधैं भेट हुन्छ। तपाईको खुब तारिफ गर्छे उस्ले।
खुब माया गर्छे तपाईलाई हरपल सम्झी रहन्छे नि। तपाईं पो मलाई केही भन्नू हुन्न। -म छक्क परें।
निमाले भनेको कुरा मैले केही बुझ्नै सकिन।
आखिर उ को संग भेटिन्? कतै मलाई चहाने अरु त छैन? हैन हैन मेरो अरु कुनै युवती संग परिचय त भएको छैन? मन यसो भन्थ्यो। -एकतमास हुन पुगेछु।
:ए बुद्धू! बोल्नुस् न। -झकझक्याईन।
यति खेर मैले कुरा बुझ्दै गएँ, जसरी मैले उस्लाई दृस्तान्तमा आज सम्म प्रेम बोलेको थिएँ। त्यसरी नै उन्ले आफुलाई प्रस्ताव राखुन भनेर बाटो खुल्ला पार्दै छे। तर म अझै स्पस्ट हुनै सकिन। उनी चाहिँ निकै हतारिएको म बुझ्थें। अन्ततः
:निमा ल तिमी भन म त केही भन्नै सकिन जे पर्छ त्यही टर्छ तिम्रो मनमा के कुरा लागेको हो फ्याट्टै भन। -मूर्ख बन्न पुगेछु।
:खै मेरो भ्रम हो या सत्यता तपाई मलाई चाहानु हुन्छ झै लाग्छ। तपाईको म प्रतिको माया, बिश्वास र आत्मियताका कारण म पनि तपाईलाई धेरै चाहान्छु। यदि तपाईको जिन्दगीमा म योग्य छु भने र तपाईले मलाई स्वीकार्नु भयो भने म आफुलाई भाग्यमानी ठान्नेछु।
अचानक म झस्किएँ, चकित पारिन् उनले मलाई। नसोचेको खेलमा जीत हात पारे झैँ भयो। यतिका सुखदुःखका कुराहरु गरेर कयौं अगाडि देखि भन्न खोजेको कुरा भन्नै नसक्ने एक हिसाबले म त कायर नै रहेछु। यति ठूलो सहास गरेर उनले एकै छिनमा यथार्थ बोलिन्।
उनलाई महान ठानें।
अन्ततः हामी दुई प्रेम संबन्धमा गाँसियौं। माया प्रेमका मीठो बोली बोल्दै समय संगै चल्यौ।
कहिल्यै नछुटिने बाचाकसम गरेर अघि बढ्यौं। साथै भावनामा लिप्त भै कहिल्यै अनावश्यक सपनाहरु देखेनन्।
प्रत्येक दिनको कुराकानीमा घरपरिवारको कुरा पनि निक्कै चल्ने गर्थ्यो।
परिस्थितिले हामीलाई भावुक भन्दा पनि ब्यबहारिक बन्न सिकायो।
उनी संग प्रेम सम्बन्धमा रहे पछि उनी संगै जीवन बित्छ भन्नेमा बिश्वस्त थिएँ।
समय बित्दै गर्दा बिस्तारै सोचाईमा पनि परिवर्तन हुँदै गयो।
सदैब पर्देसमा नोकरी गरेर हुदैन हातमा केही सीप पनि बटुल्नु पर्छ। जसले गर्दा जिन्दगीमा अझ बढी आर्थिक उन्नती होस् र भबिस्यमा आफुलाई पनि सुबिस्ता होस् भन्ने चाहें।
मैले काम गर्ने कम्पनीमा मार्बलका ढुंगा बोक्ने ठुला र साना सवारी साधनहरु थिए।
कम्पनी राम्रो भएकोले छुट्टीको समयमा कम्पनी भित्रै रहेर अन्य सीप पनि सिक्न पाउने थियो। सोही कम्पनीमा लेबर भिसामा आएका कयौं साथीहरु ड्राईभिङ सिकेर फर्केका थिए। मेरो लागि पनि सो अवसर प्रसस्त थियो।
मैले निमालाई यी कुराहरु पनि सुनाएँ। उनले खुसि व्यक्त गरिन्। हातमा सीप भयो भने जहाँ गए पनि काम लाग्छ मौका मिल्छ भने नछोड्नु सिक्दा राम्रो।
सोही अनुरुप छुट्टिको समयमा पनि कम्पनी गएर पुराना चालकहरु संगै बस्ने गाडी चलाउन सिक्ने गर्थें।
२,३ महिना पछि मैले बस चलाउन सिकि सकेको थिएँ।
४ बर्षको भिसा अबधी थियो २ बर्ष पछि बिदामा घर जान पाउने नियम भएकोले एकपटक घरजाने सोंच गरें।
संगै घर जाँदा नेपालको सवारी चालकको अनुमतीपत्र बनाएर आउछु भनी नेपाल जाने चाँजोपाँजो मिलाएर
निमालाई दुबई मै छाडी १५ दिनको बिदामा म एक्लै २०६६ साल माघ २० गते नै नेपाल फर्किएँ।
घर आईपुग्दा स परिवार एक्दमै खुसी भए।
माघ २२ गतेको रातभरी स-परिवार एकैठाउमा बसेर बिदेशको कुरा गर्यौ।
साथै आमाबाबालाई निमाको बारेमा पनि बताएँ। हामी सम्बन्धमा रहेको पनि प्रस्ट पारें।
निमाको तस्बिर देखाएँ आमाले त खुब मन पराउनु भयो। म गुरुङ उनि लिम्बू भए पनि बाबाआमा बुझ्ने हुनुहुन्थ्यो कुनै अफ्ट्यारो नै भएन।
उहाहरु संग निमाको पनि टेलिफोन सम्पर्क भयो।
बिदा छोटो भएकोले घरपरिवार अनि आफन्तहरुलाइ धेरै समय दिन सक्ने स्थिती थिएन।
मैले सरासर आफ्नो लक्ष पूरा गर्नु थियो। सोचें झै गरि दस दिन मै लाईसेन्स हात लाग्यो।
१५ दिनको नेपाल बसाइँ सकिए लगत्तै म पुन दुबई फर्किएँ। र उहीँ पुरानै शैलीमा जिन्दगी अघि बढ्न थाल्यो। साथै दुबई फर्किए लगत्तै मैले त्यहाको ड्राईभिङ लाईसेन्स् को लागि पहल गरें। जसको लागि ५ हजार धिरामको आवस्यक पर्ने थियो। म संग तत्काल नभए पनि निमा र संगैका साथीहरुले सहयोग गरि दिए। दुबईको ट्राफिक व्यबस्था निक्कै कडा छ। तर पनि देहाए बमोजिमको लिखित र व्यबहारिक परिक्षा सहजै पास गरि लाईसेन्स् प्राप्त गरें।
अचेल त नीमा संग प्रत्येक बिदामा भेटघाट हुन थालेको छ। जमाना बदलिएको हो या मेरो बिचार कम्जोर खै। उनि चञ्चले धेरै बोल्ने गर्थी म बढी मात्रामा चुपचाप सुनी रहन्थें।
:हजुर त कस्तो लाटो मान्छे अलिक फन्नी हुनु न हौ।
फोनमा कुरा गर्दा त खुब आउथें त कहाँ कहाँको कुरा भेट्दा चाहिँ के हो?
वास्तवमा मेरो सोचाई उनी संग रमाउनु भन्दा पर नै भै रहन्थ्यो। अब केही जमिन जोड्नु पर्छ नयाँ घर बनाउनु पर्छ। अहिले सम्म कष्टकर जीवन बिताउदै आउनु भएका बाबाआमालाई सुखले राख्नु पर्छ। भाइको आकांक्षा पूरा गर्नु पर्छ। अब त ड्राईभर पनि भएँ मौका पाएँ भने अझ धेरै पैसा कमाउन सक्छु। म यहि सोच्थें।
उनलाई यहि सुनाउथें। यत्तिकैमा उनले आफ्ना नजर मेरो अनुहारमा तेर्साएर भनिन्।
:मलाई हेर्नुस् त! तपाईं र म मा केही फरक छ र? मेरो पनि त उस्तै हो नि।
बाबाको निधन भए पछि मेरो आमालाई कति गाह्रो भएको छ।
समाज भित्र रहेको धर्तिका बोझहरुले हामी छोरीचेली माथी गिद्धे नजर लगाउछन्।
त्यो माथी झन छोरा मान्छे नै नभएको मेरो घर। बिचरा मेरी आमा र बहिनी कति डराई डराई जीवन बाँच्दै छ नेपालमा।
मेरो पनि त सपना छ नि, आमालाई सुखमा राख्ने बहिनीलाई धेरै पढाउने। समाजमा केही गरेर देखाउने। ती कर्तब्यहरु पूरा गर्नु छ।
-बोल्दा बोल्दै उन्को आँखा बाट आँसुले तरिली नाघी सक्छ। म उन्को आँसु पुछ्न पुगें।
अनि प्रसंग बदल्दै मैले भनें-
:हामी त ती सपना पूरा गर्दा गर्दै बूढो हुन्छौ होला है?
अनि कुप्रो परे पछि बिहे गर्ने ल।
उनी गललल,,,,,, हाँस्दै भनिन्।
:छ्या तेत्ती सम्म चाहिँ हुदैन होला हौं।
म फेरि उहीँ असन्तुष्टि बोली बोलें।
:अनि यो १५ सय,२ हजार धिरामको जागिरले कहिले पूरा हुन्छ खै त्यो सपना!
उन्ले प्रेम दर्साउदै आश्वासन दिइन्।
:हारेस खानु हुदैन के! जिन्दगीमा जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो।
त्यसैले आत्माबल बढाउनु सानोसानो कुरा बाट धेरै सन्तुष्टि बटुल्न सक्नु पर्छ।
भोलि यिनै सानासाना खुसीहरु नै त हो हाम्रो जिन्दगी सफल बनाउने पहिलो आधार। अब त तपाईं संग सिपको हतियार पनि छ। धैर्य गर्नुस् न। एक दिन अवस्य सफल हुनेछ।
साँच्चै उनको प्रत्येक शब्दले मलाई अझ बढी आत्मबल प्राप्ती हुन्थ्यो।
म उनी संग धेरै खुसी हुन्थें। जस्तै भए पनि मलाई कर्मले साथ दिन्छ भन्ने लाग्थ्यो।
घर बाट बिदा सकिएर दुबई फर्केको पनि एक महिना बिति सकेछ।
यसै क्रममा मैले काम गर्ने कम्पनीमा ड्राईभरको कमि भएछ।
बोसले नयाँ ड्राईभर ल्याउदै छ भन्ने सुनें। त्यही मौका पारेर मैले कम्पनीको म्यानेजर संग म गाडी चलाउन सक्छु। लाईसेन्स् पनि छ, अर्को ल्याउने झन्झट गर्नु भन्दा मलाई अवसर दिनुस् कम्पनीलाई पनि सजिलो मलाई पनि सजिलो।
म्यानेजरले बोस संग कुरा राख्छु भन्नू भयो।
नभन्दै बोसले म्यानेजरको कुरा मानेछ। सुरुमा २ हजार धिराम र तीन महिना पछि २५ सय धिराम मासिक तलब दिने सर्त आयो। सर्त मञ्जुर भो। नेपाली ४० हजारको तलब बाट एक्कासी ६५ हजारमा पुग्दा अति खुसी लग्यो।
सरासर गाडी चलाउन थालें। पहिले भन्दा झन धेरै खुसी थिएँ अब मेरा सपनाहरु अझै छिट्टै पुरा हुनेछ।
मलाई खुसी देखा निमा मक्ख पर्थिन्।
एकातिर गतिशील समय आफ्नै गतिमा दगुर्दै थियो। अर्को तिर निमा र म अनि हाम्रो सपना त्यही समय संगै बिस्तारै पूरा हुँदै थियो। यसरी नै समय बितिरहें। बस चलाउन थालेको एक बर्ष पछि मैले जग्गा पनि जोडे। उता निमाले पनि आफ्नो कमाइले घर व्यबहार धान्दै बाँकी पैसा बहिनीको भबिस्यको लागि भनी जम्मा गर्दै गए। निमाको बहिनी र मेरो भाईले पनि भर्खरै एस एल सि परीक्षा पास गरेर बसेका थिए। उनको बहिनी र मेरो भाइ दुबै जनाले उच्च शिक्षा संगै इन्जिनियरिङ अध्यनमा रुचि राखेका थिए। यता निमा र मैले पनि उनिहरुको चाहानालाई पूरा गरि दिनु पर्छ भन्ने सल्लाह भयो। तसर्थ हाम्रो भिसा समाप्त भएर पनि फेरि भिसा थपेर बसेका थियौ।
एक दिन निमाको आमा अचानक बिरामी भएको खबर आयो। उनको बहिनीले हस्पिटल पुर्याएछ।
रोग पत्ता लाग्दा जाँदा उहाँलाई पायल्स् भएको रहेछ। जसको उपचारको लागि अपरेसन गर्नु पर्ने हुन्थ्यो।
तर पायल्स् कै कारण धेरै रगत बगेकोले तत्काल अपरेसन गर्न सक्ने अवस्था थिएन। फेरि अर्को बिडम्बना निमाको आमाको रगत ग्रुप बि पोजेटिभ भएकोले उक्त रगत हत्तपत्त पाउन गाह्रो थियो।
रेडक्रस, ब्लड बैंक, विभिन्न संघसंस्था लगाएत सम्बन्धित व्यक्तीहरु संग हारगुहार गर्दा बल्लबल्ल केही मात्रमा रगत भेटिए।
ती रगत दिदादिदै पनि निमाको आमालाई रोगले झनझन च्याप्दै गयो। कारण पर्याप्त रगत एकै पटक दिन नसक्नाले उहाँको अपरेसन हुन सकेको थिएन।
यसरी नै हप्ता दिन बित्दै गए। एक हप्ता पछि बि पोजेटिभ रगत पाउनै छाड्यो।
उता आमा जीवन मृत्युको दोसाँधमा हस्पिटलको शैंयामा छटपटिदै हुनुहुन्थ्यो।
आफ्नी आमालाई जसरी पनि बचाउनु पर्ने निमाको उदेश्य थियो। उनले आफ्नो रगत दिन्छु भनेर रगत परिक्षण गरिन् तर उनको रगत पनि आमाको रगत संग मिलेन।
यहाँ दुबईमा म लगाएत अन्य साथीहरुको पनि रगत परिक्षण गरियो। तर कसैको पनि मिल्न सकेन।
कहिकतै बाट पनि आमा संग मिल्ने रगत पाउन सकेको थिएन। बल्लतल्ल रेडक्रसको सहायतामा पर्याप्त रगत भेटिएछ।
२०६८ श्रावण चैत २४ गतेको बिहान थियो। निमाले निक्कै खुसी हुँदै मलाई टेलिफोनमा भनेकी थिइन्। रगत भेटिएको छ अब आमा ठिक हुन्छ। चिन्ता नलिनु सब ठिक भएपछि म चाँडै दुबई फर्किनेछु।
मलाई पनि धेरै खुसी लाग्यो। उनी भन्दै थिइन्, उता आमालाई रगत चढाउन सुरु गरिएको छ।
यति भन्दै गर्दा बहिनीले भित्र बाट अतालिदै निमालाई बोलाएको सुनें। उनले हत्तपत्त फोन राखेर हस्पिटल भित्र गइन्।
त्यहा चढाउदै गरेको रगत उनको आमालाइ स्विकार्य भएन या निष्ठुरी दैबले निमाको खुसी देख्न सकेन खै?
छोरीहरुको सफलतालाई नियाल्दै गरेकी ममतामय आमालाई दैबले खोसेर लगे।
हस्पिटलको शैंयामा उनको आमाले जिन्दगी बाट बिदा लिनु भएछ।
उनले फेरि मलाई फोन गरेर यी सबै वृतान्त बताईन्। कस्तो निष्ठुरी दैब साँच्चै निष्ठुरी कति दिन पछि मैले निमाको अनुहारमा खुसी देख्दै थिएँ।
पलभर मै त्यो खुसी विलीन भएर गयो।
निमा भक्कानिदै रुदै थिइ।
उन्को आमाको निधनले मलाई स्तब्ध बनायो। केही भन्नै सकिन। केही बोल्नै नसक्ने बनायो।
उनलाई दिने सान्त्वनाका शब्दहरु व्यक्त गर्न पनि बडो मुस्किल भयो।
संसारको रित यस्तै छ निमा नआत्तिनु। तिमीमा अझ बढी जिम्मेवारी सुम्पेर आमाले बिदालिनु भएको छ।
ती जिम्मेवारी अब हामी दुई मिलेर बहन गर्नु पर्छ। तिम्रो साथ सदैव म छु। यिनै शब्दले उनलाइ सान्त्वना दिने प्रयास गरें। तर मान्छेको मन यस्तो परिस्थितिमा कहाँ सम्हालिन सकिदो रहेछ र? निमाले आफुले आफुलाई कत्ती पनि सम्हाल्न सकेको थिएन।
त्यहा दुइ छोरीहरु मात्रै छन्। यस्तो बेला उनिहरुको समीप म पुगेन भने ती कोमल मन अझ कहालिन्छ सक्छ। अन्ततः मैले तुरुन्तै नेपाल जाने निधो गरें। सोहि दिन कम्पनीमा कुरा राखेर रातरात नेपाल पुगें।
म पुगे लगत्तै उनको आमाको दाहसंस्कार गरियो।
सबै कृयकार्य समाप्त भए पछि मात्रै मैले म नेपाल मै रहेको जानकारी सहित सम्पुर्ण वृतान्त घरमा बताएँ।
अब चिन्ता थियो निमा र उनको बहिनीले अबको दिनमा के गर्ने, कसरी अघि बढ्ने भन्ने कुराको। समस्या संगै समधानहरु त थुप्रै थिए तर कुन बाटो रोज्ने भन्ने कुराले अन्यौलमा पार्यो।
म निमा कै घरमा थिएँ, निमाको बहिनीले एस एल सि उत्रिण गरि सकेकोले उच्च-शिक्षा अध्यनको लागि होस्टेलमा राखेर हामी दुई दुबई फर्कने निर्णय गर्यौं। मेरो भाईको र निमाको बहिनीको लक्ष पनि यौटै भएकोले दुबैजनालाई यौटै होस्टेलमा राख्ने बिचार पनि पलायो। सोही अनुरुप उनको बहिनी र मेरो भाईलाई पोखरामा ल्याई भर्ना गरियो।
यी सबै प्रक्रिया सक्किए लगत्तै हामी छिट्टै दुबै फर्किनु थियो। असोजको महिना चाडको बेला, निमाको मुहार उस्सै मलिन थियो। म पनि उस्सै विभुल थिएँ।
२०६८ असोजको ०३ गते हामी दुबई फर्कनु पर्ने। त्यो भन्दा अगाडि एकपटक भए पनि घर पुग्ने मनासयले निमा र म संगै मेरो घर गयौं।
२ गतेको रात घरमा बिताएँ ३ गते,११ बजे राती दुबईको उडान थियो। सबेरै उठ्यौं हामी तयार भयौं मेरो बाबाको पनि बजार सम्म झर्ने काम रहेछ संगै आयौं।
त्यो दिन बाबाले निक्कै आश्चर्यजनक कुराहरु गर्दै हुनुहुन्थ्यो।
"बाबू हाम्रो उमेर छिप्पिदै गएको छ। अब घरको ठूलो भन्नू, व्यबहार सम्हाल्न सक्ने तैं छस्। बिदेश धेरै नबस। चाँडै फर्की, नानीलाई पनि छिट्टै भित्र्याउन पाए हामीलाई पनि आनन्द हुन्थ्यो। तिमीहरु कमाउने मान्छे। फेरि दुख पनि बुझ्नु पर्यो। खैर् बिदेशको ठाउँमा आफ्नो राम्रो ख्याल राख।"
बाबाको कुराहरुले मेरो गह भिजेको थियो यतिकैमा हाम्रो छुट्टिने समय भै सकेको थियो। बुढेसकालको मलिन अनुहारको निर्दोष आँखा बाट टिलपिल आँसु झार्दै बाबाले हामीलाई बिदा दिनु भयो। बाजार बाट छुट्टिएर हामी काठ्मण्डौं लाग्यौं।
रातको ९ बजे हामी बिमानस्थल पुग्यौं।
बोरिङ पास लिएर प्रस्थान कक्षमा प्रवेश गर्दै थियौं, यत्तिकैमा मोबाईलको घण्टी बज्यो। आमाले फोन गर्नु भएको रहेछ। फोन उठाएँ, आमा एक्कासी भक्कानिनु भयो।
"घर फर्क बाबू, नजा बिदेश, आईज घर"
बिहान सबेरै खान बनाएर हामी दुईलाई खान खुवाई, पर्देशको ठाउमा राम्रो काम गर, आफ्नो ख्याल राख कसै संग नराम्रो नहुनु अहिले सम्म गरिस् अब केही समय दुख गर भनेर आशिर्वाद दिदै बिदा दिनु भएको आमाले अहिले एक्कासी घर फर्कनी भने सुन्दा अचम्म लाग्यो।
"आमाको मन न हो भाइ पनि घरमा छैन बुढाबुढी मात्र, धेरै सोच्नु भो होला अनि पिर लाग्यो।"
मैले शर्सर्ती यहि बुझेँ र भनें।
:नआतिनु आमा भाइ छुट्टिमा घर आई हाल्छ नि, हामी फोन गर्दै गर्छौ चिन्ता नलिनु, हामी अब एकछिनमा जहाज चढ्छौ, अनि बाबा घर पुग्नु भयो?
आमा झन जोडले रुन थाल्नु भयो।
अनि सोधें
: के भयो आमा?
आमाले बल्लतल्ल भन्नू भयो।
बजार बाट घर फर्कदै गर्दा, गाउँ नजिकैको भिरबाट बाबा आउनु भएको जिप खसेछ, घटना स्थल मै बाबा संगै अरु ४ जनाको ज्यान गएछ, धेरै घाईते भएछन्।
यो खबरले मलाई फेरि जिउनु न मर्नु बनायो। दैबले पीडा पनि पालैपालो दिए।
सबै कुरा मैले निमालाई सुनाए, उन्को त झन आलो घाउ उनी पनि उत्तिकै मदोहोस् भइन्।
उनलाइ दुबई जाउ म घर जान्छु भनें। एकले अर्कालाई सधै साथ दिएको हामीले यो दु:खद घडिमा उन्ले मेरो साथ छोड्न मानिनन्।
अन्ततः हामी दुई दुबईको सट्टा तत्काल गाउँ फर्कियौं।
एकदिन बिहानीको उपदेश, अनि संगैको छोटो यात्रा नै बाबू छोराको अन्तिम संगम हो भन्ने थाहा भएको भए सायद म बाबाको साथ जुनसुकै परिस्थितिमा पनि छोड्ने थिएन होला। भावीको लेखा कसलाई पो थाहा हुदो रहेछ र।
एक दिन त छाडेर जानू नै थ्यो। तर अपसोच उहाँले हामी प्रती लगाउनु भएको गुन तिर्न नपाउदै हामी माझ बाट टाढ हुनु भयो। दैबको यो लिला देख्दा पनि कहिले काहीँ त धिकार लागेर आउँछ यो जिन्दगी।
काठ्मण्डौ बाट फर्कदै गर्दा पोखरामा रहेको निमाको बहिनी र मेरो भाईलाई पनि संगै लिएर आयौं।
पोस्टमाटमको लागि छेदविच्छेद उहाको पार्थिव शरीरलाई पाल्पा लगिएको रहेछ। त्यहा बाट फर्काए लगत्तै बाबाको अन्तिम संस्कार गर्यौं।
किरिया बस्दै गर्दा आमा र गाउँका अग्रज आफन्तहरुले बिदेश नजानको लागि आग्रह गरे। बरु जाने नै हो भने केही समय पछि बुहारी भित्र्याएर जाउ आमालाई साथी हुन्छ उनिहरुले गाउँमा कुनै उत्पादन मुलक काम गरेर बस्नेछ। आमा र आफन्तहरु बाट यस्तो सुझाब आए पछि मैले केही भन्नै सक्न।
एकातिर मेरो भाइ र निमाको बहिनीको भविस्य अर्को तिरा उनिहरुलाई सक्षम बनाउने सपना।
तै पनि तत्कालको लागि उता दुबई कम्पनीमा रहेको भिसा खारेज गरें।
निमा पनि बिदेस नजाने अब यहि कृषि पेसा गरेर बस्छु भनिन्।
मेरो बाकी यौटै लक्ष थियो भाईलाई इन्जिनियर बनाउने म त्यो लक्ष पूरा गर्न भए पनि एकपटक बिदेश जानै पर्ने थियो।
किरियाकार्य सकिए लगत्तै मैले दुबईको अर्को कम्पनीमा भिसा खोज्न तर्फ लागें। यता बाध्यताको अर्को घेरा भित्र म पिल्सिएको थियो। दुखको घडिमा पनि मैले सबैको सल्लाह अनुसार निमा संग सामाजिक रिवाज भित्र रहेर बिहे गरें।
त्यस पछि शहरमा जोडेको जग्गा बेचेर निमा र आमा दुबैजनाको मिलेमतोमा ठूलो परिणामको बाख्रा पालन सुरु गरियो। यसरी मैले ६ महिना नेपालमा बिताएँ।
उता दुबईको लागि भिषा पनि तयार भयो।
पहिले भन्दा अझ राम्रो काम, अझ बढी पारिश्रमिक। २०६९ जेष्ठ महिनामा म पुनः दुबई पुगेर मेरो काम सुरु भयो, नेपालमा आमा र निमाको पनि सोचे भन्दा धेरै राम्रो आम्दानी भयो जसले गर्दा मेरो भाइ र निमाको बहिनीको पढाईको लागि कुनै चिन्ता नै भएन।
तर पनि म दुबई मै परिश्रम गरि रहें।
उता ती दुबैजनाले बाँकी पढाईको लागि अमेरिका जाने निर्णय गरे, त्यो चाहाना पनि सबै मिलेर पूरा गराई दिएँ।
अन्ततः २०७२ सालमा हामी तिनै जना एकै साथ नेपाल फर्कियौं।
अमेरिका बाट निमाको बहिनी र मेरो भाइ इन्जिनियरका साथसाथै श्रीमान श्रीमती पनि भएर फर्किए, म दुबई बाट जस्ताको तस्तै फर्किएँ।
लेखक: मन गुरुङ माइला
